Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारी जोत्न ट्र्याक्टर छाडेर फेरि गोरूकै भर

बुधबार, वैशाख २०, २०८०

सिन्धुपाल्चोक– परम्परागत कृषि कर्ममा अभिन्न अङ्ग मानिएको हलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ । किसानले विस्तारै गोरू पाल्न छोडेको देखिन्छ । 

तर, सिन्धुपाल्चोकका किसान भने ट्र्याक्टरको प्रयोग छाडेर गोरुकै प्रयोग गर्र्न थालेका छन् । भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्र्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानले गोरुकै प्रयोग गर्न थालेका हुन् । गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्र्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका छन् ।

बाह्रबिसे नगरपालिकाकका नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार  सात सयजना किसनालाई गोरु अनुदान दिइएको  छ । अनुदानसँगै गोरुको बीमा गरिएको नगर प्रमख बस्नेतले जानकारी बताए । उनले एउटा किसान बराबर रु १० हजारको दरले सात लाख अनुदानस्वरुप दिइसकेको उल्लेख गरे ।

भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्र्याक्टर  लैजान गाह्रो हुने मात्र होइन खेतबारी गहिरोसँग ट्र्याक्टरले नखन्ने र मर्मत गरिरहुनपर्ने, तेल प्रयोगका कारण महङ्गो हुने जस्ता समस्याका कारण आफूहरुले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउँछन् । केही समय ट्र्याक्टरको प्रयोग गरेको र ट्र्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उनको भनाइ छ ।

राम्चेका किसान अटलबहादुर तामाङले भने ट्र्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउँछन् । गोरूले जोते जस्तै ट्र्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उनको अनुभव छ । ट्र्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उनी बताउँछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार