पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
म्याग्दी –पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेका समेत गरी एघारजना घाइते भएका छन् । दुर्घटनापछि स्थानीयवासीले सडकअवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए । स्थानीयवासीले ट्रकसमेत तोडफोड गरेको छन् । घटनास्थलमा धेरै संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थीसमेत घाइते भएको स्थानीयवासीसमेत रहेका नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।
‘घुम्तीमा एक्कासी ट्रक आएर ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्’, अधिकारीले भने ।