‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ नेपाल टेलिभिजनबाट प्रसारण हुने
काठमाडौं–‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् ।
नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण हुने टेलिभिजनका महाप्रबन्धक फूलमान बलले जानकारी दिए । ‘टेलिभिजनले दुवै ‘सो’ मा मिडिया पार्टनरका रूपमा सहकार्य गरेको छ । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई विश्वमा रहेका बढीभन्दा बढी नेपालीसम्म पु¥याउनु हाम्रो उद्देश्य हो’, महाप्रबन्धक बलले भने ।
यसका विजेताले आकर्षक राशिको पुरस्कार त पाउँछन् नै त्योभन्दा पनि सोमार्फत संस्कृति प्रवर्द्धनमा गरिएको प्रयास उल्लेखनीय रहेको पनि उनले बताए ।
त्यसैगरी, नृत्यसँग सम्बन्धित ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण हुनेछ । दुवै सोहरू तीस–तीस एपिसोडको हुनेछ । यी कार्यक्रमको महत्वलाई बुझेर नेपाल टेलिभिजनले ‘प्राइम’ समयमै प्रसारणको व्यवस्था गरेको र दुवै कार्यक्रम एक घन्टा दश मिनेटको हुने महाप्रबन्धक बलले जानकारी दिए ।
नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।
गायन रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् ।
यसैगरी, नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई छन् ।
यी कार्यक्रमको प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन् । नेपालमा आयोजना भएका रियालिटी सोमध्ये यी सोमा अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।
संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच गत महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् ।