Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

बुधबार, वैशाख २०, २०८०

पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिने भएका छन् । १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मुख्यमन्त्री बनेको एक हप्तामै विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानमा मुख्यमन्त्री बनेको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भन्दै गण्डकी प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री पाण्डे तत्काल विश्वासको मत लिने पक्षमा थिएनन् । उनी मन्त्रिपरिषद्को पूर्णता र मन्त्रीहरुको कार्य विभाजन गरेर मात्र विश्वासको मत लिने पक्षमा थिए । तर जति प्रयास गरे पनि पार्टी भित्रबाट बन्ने मन्त्रीको टुंगो लगाउन र नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँटमा सहमति नजुटेपछि उनी मन्त्रिपरिषद्लाई  पूर्णता दिन र मन्त्रीहरूको कार्य विभाजन गर्न सकेनन् ।

मन्त्रिपरिषद् गठन भएको एक हप्ता बित्दासमेत उनले मन्त्रीहरूको कार्य विभाजन गर्न सकेका छैनन् । मन्त्री बनेका काङ्ग्रेसकी सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी सुशीला सिंखडाले जिम्मेवारी नपाउँदा बिना विभागीय मन्त्री बनेर कामविहीन छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्