बजेटबारे आधारपत्र तयार गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ– सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय गरेका छन् ।
नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको छ ।
मुख्य सचेतक लेखकले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरुपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सबै दलहरुको धारणा समावेश गरेर परिमार्जन गर्ने बताए ।
‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो’, सचेतक लेखकले भने । बजेटबारे सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने छलफल भएकाे उनकाे भनाई छ ।
उनले आर्थिक प्रतिकुलतामा अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताए । उनले गठबन्धन दलका नेताहरुले बाहिर जस्तो अभिव्यक्ति दिएपनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।