नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : टोपबहादुर रायमाझी
अर्घाखाँची– सांसद टोपबहादुर रायमाझीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
रायमाझीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।
अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै रायमाझीले भने, “फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।” उनले आफूले भूटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले तत्कालीन ऊर्जामन्त्रीसमेत रहेका रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । रायमाझी गत मङ्सिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी यसअघि उपप्रधानन्त्री एवं ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री थिए । रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।