Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्बियाको एक प्राथमिक विद्यालयमा गोली चल्यो : ९ जनाको मृत्यु

बिहीबार, वैशाख २१, २०८०

बेलग्रेड– सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन । 

स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको थियो ।

विद्यालय बाहिर कुरेर बसिरहेका विद्यार्थीहरू व्याकुल देखिएका कारण अभिभावकहरू घटनास्थलमा पुगेपछि प्रहरीले छिमेक सिल गर्न तुरुन्तै कदम चालेको थियो । 

‘घटनामा आठ बालबालिका र एक सुरक्षा गार्डको मृत्यु भएको छ भने ६ बालबालिका र एक शिक्षक घाइते भएका छन्,’ गृह मन्त्रालयले भनेको छ । 

सबै प्रहरी बलहरू अझै पनि घटनास्थलमा छन् र यस त्रासदीको कारणबारे सबै तथ्य र परिस्थितिहरू प्रकाश पार्ने काम गरिरहेका छन् ।

बेलग्रेडको भ्राकर जिल्लाका अध्यक्ष मिलन नेडेलजकोभिकले विद्यालयका सुरक्षा गार्डले आक्रमणकारीको अगाडि आफूलाई राखेर थप मृत्यु हुनबाट रोकेको हुनसक्ने बताएका छन् ।

नेडेलजकोभिकले विद्यालयबाहिर टेलिभिजनमा प्रत्यक्ष पत्रकारसँग कुरा गर्दै भन्नुभयो,“गार्डले दुर्घटना रोक्ने प्रयासमा उहाँ पहिलो शिकार भएका थिए ।

बुधबार बिहानै प्रहरीले गोली प्रहारपछि एक किशोरलाई पक्राउ गरेको जनाएको थियो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले तत्काल उपलब्ध सबै गस्ती टोली घटनास्थलमा पठायो । त्यहाँबाट विद्यार्थी र विद्यालयको सुरक्षा गार्डलाई लक्षित गरी आफ्नो बुबाको बन्दुकबाट धेरै गोली चलाएको आशङ्का गरिएका कक्षा ७ मा अध्ययनरत एक संदिग्ध बालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।’
प्रहरीले शङ्कास्पद आक्रमणकारीको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन वा कुनै सम्भावित उद्देश्यको बारेमा टिप्पणी गरेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्