Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमल थापाको प्रस्ताव– बेलायतका राजाको राज्याभिषेकमा ज्ञानेन्द्रलाई पठाऔँ

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाउन सरकारसँग प्रस्ताव गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले आज सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन् ।

बेलायती राजपरिवारसँगको आत्मिय सम्बन्धलाई देशहितमा सदुपयोग गर्न सरकारले ज्ञानेन्द्रलाई अघि सार्नुपर्ने उनको तर्क छ ।

‘नेपाल सरकारले सदाशयता र कूटनीतिक सुझबुझ राख्ने हो भने संयुक्त अधिराज्यका राजा चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली र बेलायती राजपरिवारबीचको आत्मिय सम्बन्धलाई देशहितमा सदुपयोग गर्नु उपयुक्त हुन्छ ।’

राप्रपाको अध्यक्षमा पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रले आफूलाई हराएको आरोप लगाउँदै थापाले राप्रपा नेपाल भन्ने छुट्टै पार्टी अस्तित्वमा ल्याएका थिए । 

ज्ञानेन्द्रसँगको सम्बन्धमा दरार आएपछि थापाले राजसंस्थाको औचित्य सकिएको बताउँदै आएकोमा अहिले सम्बन्ध सुधारको संकेत गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्