Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, मन्त्रिपरिषद विस्तार अन्योल

बिहीबार, वैशाख २१, २०८०

पोखरा –गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको छ । मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए । उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए । उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबीका बावजुद संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन्  ।

पाण्डेले सपथ लिएकै दिन नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई बिनाविभागीय मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए ।

कांग्रेसभित्रैबाट मन्त्रीका आकांक्षी धेरै हुँदा पाण्डेले विश्वासको मत लिएरमात्र मन्त्रिपरिषद  विस्तार गर्ने योजना बनाएका छन् ।

खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट ७ मा झारेपछि पाण्डेले पनि सोही संख्या कायम गर्ने घोषणा गरिसकेका छन् ।

अब कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री बन्ने कांग्रेस सांसदहरूको  दाबी छ । तर, माओवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अघिल्लो सरकारमै २ मन्त्रालय पाएकाले सोही  संख्यामा सीमित हुने कांग्रेसको अडान छ ।

एकीकृत समाजवादीका राजीव गुरूङ (दीपक मनाङे)ले पनि मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् । पाण्डेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्