‘बुद्धका उपदेश अनुसरणबाट नै शान्ति र समृद्धि’
लुम्बिनी– बुद्धका उपदेशको अनुसरणबाट नै मुलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरूले बताएका छन् । सबै वर्ग समुदायबीच समन्वय र मिलाप कायम हुन थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरूले त्यस्ता उपदेशलाई विश्वव्यापी बनाउन जरुरी रहेकोमा जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजना गरेको ‘समृद्धिका लागि शान्तिः सम्बुद्ध’ विषयक परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरूले बुद्धका उपदेशको अनुसरणमा जोड दिए ।
लुम्बिनी विकास कोषका उपाध्याक्ष भिक्षु मेत्तेयले वर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धले दिएको बताए । विश्वका धेरै मुलुकमा वर्गीय सङ्घर्षका क्रान्तिहरू भए पनि त्यसले मात्रै शान्ति र स्थायित्व हुन नसक्ने भन्दै उनले वर्ग समन्वयबाटै शान्ति र समृद्धि हुन सक्ने बताए । उनले हाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै वर्गीय समन्वयको आवश्यकता रहेको बताए ।
बुद्धजयन्ती बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण गरी त्रिसंयोग भएको भन्दै उनले यो समयमा बुद्धका उपदेश अनुसरण गर्दै बुद्धलाई सम्झिनुपर्ने बताए ।
बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलक आचार्यले बुद्धका उपदेशको अनुसरण तथा प्रवर्द्धनबाटै समृद्धि हासिल हुने बताए । थाइल्याण्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यको स्मरण गर्दै उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताए ।
“अबको दशक प्राज्ञिक र सृजनात्मक अभियानका साथ प्राज्ञिक कार्यलाई शान्ति र समृद्धिसँग जोडर विश्वविद्यालयले काम गरिरहेको छ”, उनले भने, “बुद्धका उपदेशको अनुसरणले शान्ति र स्थायित्वमा महत्त्वपूर्ण टेवा पुग्छ । त्यसमा जोड दिएका छौँ ।”
विश्वविद्यालयका बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले बुद्ध जन्म र मृत्युको मितिलाई आधार मानेर बुद्धजयन्ती मनाउने गरिएको भन्दै उहाँले बुद्ध पूर्णिमा जन्ममात्रै नभएर त्रिसंयोग रहेको बताए ।
अनुसन्धान केन्द्रका निर्देशक प्रा डा गितु गिरीले बुद्धजयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएर मनाउन सकिने बताइन् । उनले दर्शन, संस्कृतिको खोज अनुसन्धानले नै बुद्धलाई जीवन्त बनाइरहने भन्दै हरेक नागरिकमा बुद्ध उपदेश पुर्याउने गरी अनुसन्धान केन्द्रले काम गरिरहेको बताइन् ।
कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा डा भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले शान्ति र समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरूको चर्चा गरे ।
कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको विमोचन गरिएको थियो । विश्वविद्यालयले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा प्रज्ञास्तुपा परिसरमा बौद्ध पूजा तथा दीप प्रज्वलन गरेको छ ।