बालिका बलात्कार कसुरमा एक व्यक्तिलाई ११ वर्ष कैद
मध्यविन्दु– नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए ।
‘न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ,’ उनले भने ।
पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।
उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।