पोखरामा भोलि हिमालयन एक्स्ट्रिम ट्रायथलन
काठमाडौं–हिमालयन एक्स्ट्राई नेपालले आयोजना गर्ने ‘हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोस्रो संस्करण वैशाख २३ गते पोखरामा हुने भएको छ ।
प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड, ग्रिस, रुस, चेक गणतन्त्र, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्यान्डलगायतका २२ देशका ३६ खेलाडीले प्रतिस्पर्धा गर्ने हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले बताए ।
पौडी, साइक्लिङ र उकाली ओराली दौडिनुपर्न भएकाले निकै चुनौतीपूर्ण मानिने यस प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरूको सहयोगी टोलसमेत गरी ६५ जना सहभागी हुनेछन् ।
नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागीहरु ३.८ किमिपौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यसलगतै १७५ किलोमिटर साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाइडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ ।
त्यसलगतै ४३ किलोमिटर लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिब १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ ।
पोखरामा खेल पर्यटनको विकासमा सहयोग गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको योञ्जन बताउँछन् ।