Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँ र रुसी समकक्षीसँग भारतीय विदेशमन्त्रीको भेट

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–पर्यटकीय सहर गोवामा भारतका विदेशमन्त्री एस जयशंकरले चीन र रुसका समकक्षीसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा चिनियाँ विदेशमन्त्री छिन ग्याङसँग द्विपक्षीय सम्बन्धका बारेमा विस्तृत छलफल भएको जयशंकरले बताएका छन् ।

भेटपछि ट्विट गर्दै उनले लेखेका छन्, ‘अवरोधित मुद्दाहरू समाधान गर्न र सीमा क्षेत्रमा शान्ति सुरक्षा सुनिश्चित गर्नमा ध्यानकेन्द्रित रहेको थियो ।’

पछिल्ला वर्षमा भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा सीमा विवाद चर्किएको छ । गएको हप्ता दुई देशका रक्षामन्त्रीहरूबीचको बैठकमा भारतले चीनलाई द्विपक्षीय सम्झौताको उल्लंघन गरेर सम्बन्ध बिगारेको आरोप लगाएका थियो । चीनले भने सीमाको अवस्था समग्रमा स्थिर रहेको जनाएको थियो ।

३ वर्षअघि लद्दाखमा भएको झडपमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो ।

जयशंकरले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग द्विपक्षीय, विश्वव्यापी र बहुपक्षीय सहयोगका विषयमा विस्तृत समीक्षा गरिएको बताए । शीतयुद्धका बेलाको निकट सहयोगी मस्कोसँग नयाँ दिल्लीको सम्बन्ध बलियो छ ।

भारतले युक्रेनमा रुसी आक्रमणको विरोध गरेको छैन । रुसी तेल बिक्री घटाएर मस्कोको राजस्व घटाउने पश्चिमी प्रयास जारी छ । यही बेला भारत रुसको सबैभन्दा ठूलो कच्चा तेल खरिदकर्ता बनेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्