एसियाली भारोत्तोलनमा सागरले प्रतिस्पर्धा गर्ने
काठमाडौं–सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
दक्षिण कोरियाको जेन्जुमा मे ३ देखि सुरु भएको प्रतियोगितामा सागरले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता मे १३ सम्म सञ्चालन हुनेछ ।
पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरिया प्रस्थान गर्दै छ । दक्षिण कोरिया जाने टिमको प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । सागरले मे १३ मा प्रतिस्पर्धा गर्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, भारोत्तोलनका मुख्य प्रशिक्षक राम पौडेल, प्रशिक्षक, खेलाडीलगायतले शुक्रबार एक कार्यक्रमबीच त्रिपुरेश्वरमा बिदाइ गरे ।