भारतको मणिपुरमा तनाव, गोली हान्ने आदेश
मणिपुर–पूर्वोत्तर भारतको मणिपुरमा आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवान खटिएका छन् ।
सरकारले गम्भीर अवस्थामा देख्नेबित्तिकै उपद्रवीलाई गोली हान्न आदेश दिएको छ । राज्यका आठ जिल्लामा इम्फाल पश्चिम, काकचिङ, थौबल, जिरिबाम‚ विष्णुपुर‚ चुराचाँदपुर, कांगपोकपी र तेंगनौपाल जिल्लामा कर्फ्यू लगाइएको छ ।
राज्यभर पाँच दिनसम्म मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । नागा र कुकी आदिवासीले गरेको ऐक्यबद्धता जुलुसपछि बुधबार हिंसा भड्किएको थियो । हिंसा बढ्दै गएपछि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
सरकारले आदिवासी र बहुसंख्यक मेइती समुदायबीच हिंसा भड्किएपछि स्थिति नियन्त्रण गर्न गोली हान्न आदेश दिएको छ । सरकारले सम्झाउँदा र चेतावनी दिँदा पनि स्थिति नियन्त्रणमा नआए ‘देखेमा गोली हान्न’ कारबाही गर्न सकिने उल्लेख छ ।
सेनाका प्रवक्ताले सेना र असम राइफल्स चुराचाँदपुर र इम्फाल उपत्यकाका धेरै क्षेत्रमा र काकचिङ जिल्लाको सुगनुमा पनि तैनाथ छन् ।
मणिपुरको अवस्थाको अनुगमन गर्ने केन्द्रले ¥यापिड एक्शन फोर्स (आरएएफ) को टोली पनि पठाएको छ । सुरक्षाबलले हिंसा प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार मानिसलाई सुरक्षित स्थानमा सारेको प्रवक्ताले बताए ।
उनले थप मानिसलाई सुरक्षित स्थानमा लाने काम भइरहेको बताए। चुराचाँदपुरमा सुरक्षित गृहमा करिब ५ हजार, इम्फाल उपत्यकामा २ हजार र तेनुगोपाल जिल्लाको सीमावर्ती सहर मोरेहमा २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको प्रवक्ताले जानकारी दिए ।