सिंजाको धार्मिक तथा पर्यटकीय स्थल केदारनाथ ओझेलमा
जुम्ला –सिंजा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत धेरै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ ।
यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चढाइएका सयौँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मानिएको धातुजडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए । स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो ।
यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ। अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्विर छन्। ढुङ्गा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन् ।
जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलो पटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्त्व र यसको पहिचानबारे सम्मेलन समेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यो मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।
साउन पूर्णिमाअघि एकादशीमा ठूलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट भक्तजन यहाँ आउने गरेका छन् ।
यो क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माण सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भइसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।
केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा नं. ४ का अध्यक्ष धनजित बुढाले जोड दिए ।
भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालीकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेको स्थानीयवासी धनबहादुर बुढाले बताए ।
यो धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके सिंजा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाका बुद्ध रोकायाको भनाइ छ ।