Nic Ad Nic Ad
Nic Ad Nic Ad

किरण खरेललाई अम्बर गुरुङ संगीत पुरस्कार

शनिबार, वैशाख २३, २०८०

पोखरा–नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार’ किरण खरेललाई प्रदान गरिएको छ । 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार पोखरामा खरेललाई उक्त पुरस्कार प्रदान गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारले हङकङमा परिवारका संस्थापकमध्येका एक विक्रम गुरुङको अगुवाइमा आयोजित कार्यक्रमबाट संकलित रकमलाई कोष बनाई पुरस्कार सुरु गरेको हो । 

परिवारका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार ५ लाखबाट सुरु कोषमा अहिले १८ लाख रुपैयाँ जम्मा भइसकेको छ । 

नेपाली सांगीतिक क्षेत्रमा गायक, संगीतकार र रचनाकार रुपका त्रिवेणी अम्बर गुरुङको सम्मान र स्मृतिमा पुरस्कार स्थापना गरेको परिवारका संस्थापकमध्येका एक कवि तीर्थ श्रेष्ठले बताए । 

पहिलो पटक खरेललाई पुरस्कार प्रदान गरिएको हो । कवि श्रेष्ठले खरेलका गीतबाट नेपाली सुगम संगीतको नयाँ आयाम सुरु भएको र उनको लेखनी एउटा कोसेढुंगा भएको बताए । 

पुरस्कृत खरेलले पुरस्कारलाई अम्बर गुरुङको सुकिलो योगदानको चम्किलो सम्मानको संज्ञा दिए । ७ सय हाराहारी गीत लेखेका ८५ वर्षे खरेलको ‘ए दूरका सितारा’ गीति संग्रह पनि शनिबारै पोखरामा लोकार्पण गरिएको छ । 

चलचित्र माइतीघरका लागि खरेलले लेखेको ‘यो हो मेरो प्यारो माइतीघर...’ गीत निकै चर्चित छ । उक्त गीतको सुटिङ पोखरामै भएको थियो । खरेलका नमान लाज यसरी, वनमा फूल्यो फूल, मन्दिरमा छ कि मूर्तिमा माया लगायत गीत चर्चित छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्