Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

शनिबार, वैशाख २३, २०८०

कास्की– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट  खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी (लमजुङ) ले जितेका छन् ।

पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक/एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।

वर्ष खेलाडी घोषित केसीलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र भण्डारीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुरस्कार प्रदान गरेका थिए । पुरुषतर्फ वर्ष खेलाडीका लागि केसीसहित आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा थिए ।

महिलातर्फको मनोनयनमा भण्डारीले आर्चरीकी रोजिना थापा मगर (बागलुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर (बागलुङ)लाई पछाडि पारेकी हुन् । यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारी (बागलुङ)ले हात पारेका छन् । भण्डारीले भलिबलमा रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ (कास्की)लाई मनोनयनमा पछि पार्दै ट्रफीसहित नगद ३५ हजार पुरस्कार पाइन् ।

आर्चरीका किशोर कुमार गुरुङ (स्याङ्जा)ले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरसहित लनटेनिसका निरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए ।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सागरराज तिमिल्सिनाले पाए । तिमिल्सिना डेढ दशकदेखि पोखरमा पत्रकारितामा क्रियाशील छन् । खेलकुद सङ्घसंस्था वा क्लब अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घले पाएको छ । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले ३५–३५ हजार रुपैयाँका साथ ट्रफीबाट पुरस्कृत भए ।

यसैगरी, वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यसैगरी, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान प्रदान गरिएको थियो । 

अवार्ड विजेतालाई मुख्यमन्त्री पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, गण्डकीका निर्वतमान मुख्यन्त्री खगराज अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गण्डकी प्रदेशका खेलकुद पत्रकारको साझा संस्था खेलकुद पत्रकार मञ्च विसं २०५७ मा स्थापना भएको थियो । खेलाडीलाई ऊर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड प्रदान गर्दै आएको हो । खेलाडी र खेलकुदकर्मीको हौसला प्रदान गर्दै खेलकुद विकासका लागि अवार्डले ठूलो मद्दत गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्