Nic Ad Nic Ad
Nic Ad Nic Ad

बराह तालको जैविक विविधतामा ह्रास

आइतबार, वैशाख २४, २०८०

म्याग्दी–मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँको सिरानमा रहेको बराह तालको जैविक विविधतामा ह्रास आउन थालेको छ । 

गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैनथ्यो । यहाँ जंगलका पात पतिंगर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे ।

तर पछिल्ला चार वर्षयता यहाँका रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम भएको स्थानीय टेकबहादुर पुनले बताए । यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेको स्थानीयले बताएका छन् ।

निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बिच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराह तालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराह तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको तालको अवलोकनका लागि निस्कोट आएका पोखराका धनमणि अर्मजाले बताए । 

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा पुगेका पर्यटक यहाँको प्राकृतिक सुन्दरता र जैविक विविधतामा रमाउने गर्छन् ।

समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा अवस्थित बराह ताल र तालको आसपासबाट मनोरम हिमश्रृंखला देखिन्छ । 

बराह ताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, माना पाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृश्यको प्रत्यक्षरुपमा अवलोकन गर्न सकिन्छ। बराह तालमा वन जंगल र हिमाल देखिने प्रतिविम्ब (छाया) समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए ।

हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृश्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराह तालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो खिच्न जाने गरेका छन् । निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराह ताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ । वनकोबीच भागमा ताल रहे पनि त्यसमा कुनै पातपतिंगर हुँदैन ।

पातपतिंगर खसे चराले सफा गर्ने गरेको मालिका गाउँपालिका वडा नं १ का वडाअध्यक्ष टंकप्रसाद पुनले बताए । बराह तालमा बिहान सबेरै दुईवटा जलहाँस जलक्रिडा गर्न आउने गरेको स्थानीयवासीले अनुभव सुनाउँछन् । तर पछिल्लो समय ती जलहाँस देखिन छोडेको उनीहरू बताउँछन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्