अमेरिकामा गायक सपुत सम्मानित
काठमाडौं–गायक प्रकाश सपुत अमेरिकाको न्यूजर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टिभन फुलपद्वारा सहर घोषणापत्रबाट सम्मानित भएका छन् ।
सपुतको सम्मानमा न्यू जर्सी नेपाली समुदायबाट संयुक्त रूपमा आयोजित कार्यक्रममा मेयरले घोषणापत्र जारी गर्दै गायक सपुतलाई सामाजिक सचेतना जगाउने मौलिक गीत संगीतको उत्कृष्ट सर्जक उल्लेख गर्दै विश्वभरका लाखौं लाख नेपाली डायस्पोराको दिलमा बस्न सफल कलाकारको रूपमा मुक्तकण्ठले प्रशंसा गरे ।
उता जर्सी सिटी सहरका नेपालीहरूले गायक सपुतलाई आफ्नो सहरको जर्सी सिटीको हड्सन काउन्टी कम्युनिटी कलेजको अडिटोरियमा आयोजित सांगीतिक साँझमा जर्सी सिटीका मेयरका सल्लाहकार एवं न्यू जर्सी गभर्नरकी एशियन अमेरिकी प्यासिफिक आईल्याण्डर कमिसनकी कमिसनर डा. विष्णुमाया परियारले गायक सपुतलाई स्वागत गर्दै जर्सी सिटी सहरको मेयरद्वारा सहर घोषणापत्रबाट सम्मान गर्न पाएकोमा आफू गौरवान्वित भएको बताइन् ।
गायक सपुतको पछिल्लो बहुचर्चित गीत सकम्बरीले उनको यूट्यूब च्यानलमा रिलिज भएको दुई हप्तामै गत १ करोड ७० लाखपटक हेरिएर नेपालकै सांगीतिक इतिहासमा पहिलो रेकर्ड कायम गरेको छ । उनका गीतहरू यूट्यूबमा उनन्तिस करोडभन्दा बढी पटक हेरिएको छ ।