फरार टोपबहादुर रायमाझीको बारेमा एमालेले छलफल गर्दै
काठमाडौं–नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दै छ । दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा बैठक बस्न लागेको हो ।
बैठकमा आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने उनले बताए ।
बैठकमा केन्द्रीय समितिको एजेन्डा तय हुने छ । पार्टीको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक काठमाडौँमा सारिएको छ ।
बैठकमा नक्कली शरणार्थी प्रकरणपश्चात् फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीको बारेमा पनि छलफल हुने जनाइएको छ । फरार रायमाझीको प्रहरीले खोजी गरिरहेको छ । टोपबहादुरका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पनि उनी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ । एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालतमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर दोषी करार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने माग गर्न थालेका छन् ।