बीएनए कप बास्केटबल भोलिदेखि
काठमाडौं–बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा हुने छैटौं ‘बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’ मा ४८ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको सिनियर छात्र स्पर्धामा २४ र जुनियर छात्र स्पर्धामा १२ टोलीको सहभागिता रहने छ । यसैगरी सिनियर छात्रा स्पर्धामा पनि १२ टोलीले सहभागिता जनाउने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले दिए ।
सिनियर छात्र स्पर्धामा सहभागी टोलीलाई ८ समूह तथा बाँकी स्पर्धामा सहभागी टोलीलाई ४÷४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । सिनियर छात्र स्पर्धाको खेल थ्री बाई थ्री ढाँचामा खेलाइने छ ।
एक साता चल्ने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने जानकारी बीएनएका संयोजक सन्तोष फुयाँलले दिए । प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक विद्यालयको कोर्टमा खेलाइने छ ।
गत वर्ष प्रतियोगिताको सिनियर छात्रतर्फ ग्रिनल्यान्ड, जुनियर छात्रतर्फ एन्जल्स हार्ट र सिनियर छात्रातर्फ भ्याली पब्लिक स्कुलले उपाधि जितेका थिए ।