पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा चर्कियो प्रदर्शन
इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् ।
इस्लामावादमा इमरान खानलाई पक्राउ गरेपछि लाहोरको सडकमा पनि प्रदर्शनकारीहरू जम्मा भएका छन् । उनीहरूलाई हटाउन प्रहरी पुगेको छ ।
बीबीसी संवाददाता फुरकानका अनुसार खानको घर अवस्थित जमान पार्कमा प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका छन् ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिरहेको छ । सोही क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।
खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा आजै अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो ।
महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उहाँको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।
आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।
“इमरान खानलाई कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको छ,” इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टले भ्रष्टाचारको मुद्दालाई उद्धृत गर्दै भनेको छ ।