Nic Ad Nic Ad
Nic Ad Nic Ad

चालु खाता ५२ अर्ब घाटामा, शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब बचतमा

११ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा
बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– सरकारको चालु खाता घाटामा देखिएको छ । चालु आर्थिक वर्षमा नेपाल भित्रने र बाहिरिने रकममध्ये देशबाहिर जाने रकम बढी भएकोले चालु खाता घाटामा देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४० करोड २८ लाखले घाटामा रहेको हो ।

यस्तै, पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।

शोधनान्तर स्थिति १८० अर्ब बचतमा

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत चैत मसान्तसम्ममा १ अर्ब ३७ करोड बचतमा छ ।

११ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

आर्थिक वर्ष २०७९-८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्