शीर्ष ३ नेताको बैठक सकियो
काठमाडौं –प्रमुख ३ दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा संक्रमणकालीन न्यायका विषयमा छलफल भएको हो ।
उनीहरूबीच जारी संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
छलफलमा कांग्रेस नेता रमेश लेखक तथा उपप्रधान तथा गृहमन्त्री समेत रहेका माओवादी नेता नारायाणकाजी श्रेष्ठ समेत सहभागी थिए ।
उनीहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको जनाइएको छ । यद्यपी छलफलमा सहाभागि नेताहरूले त्यस विषयमा कुराकानी भए÷नभएको केही बताउन चाहेनन् ।
तीन नेताबीच संसदभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको नेता लेखकले जानकारी दिए । ‘संसदलाई प्रभावकारी बनाउन त्यसभित्रका विषयहरुमा केन्द्रीत भएर छलफल भएको छ । संसदमा अब बजेट, नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ’, लेखकले भने ।