Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा खेल पूर्वाधार निर्माण धमाधम

बुधबार, वैशाख २७, २०८०

पोखरा–गण्डकीमा यस वर्ष ठूलासाना गरी एक सय ६५ खेल पूर्वाधारका योजना छन् । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट छ । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति कार्य भइरहेको छ ।  

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ४० पूर्वाधार योजना सम्पन्न भइसकेका छन् । ‘एक स्थानीय तह, एक खेल मैदान’ अन्तर्गत १५ वटा खेल मैदानका लागि सम्झौता भएर काम सुरु भएको छ ।

मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले ५० प्रतिशत योजनाको काम पूरा भएको बताए । ‘अरु योजना पनि सम्झौता भएर कार्यान्वयनमा गएका छन्, केही सम्झौताका क्रममा छन’, उनले भने ।

प्रदेश सरकारका एक सय ५० र सङ्घ सरकारबाट आएको सःशर्त बजेटका १५ गरी कूल एक सय ६५ खेल पूर्वाधार बन्न लागेका हुन् । ‘जेठ मसान्तभित्र सबै पूर्वाधार निर्माणको काम सक्न उपभोक्ता समितिलाई ताकेता गरेका छौँ’, महाशाखा प्रमुख पौडेलले भने । 

पूर्वाधारतर्फ खेल मैदान, कभर्डहल, व्यायामशाला आदि निर्माण र स्तरोन्नतिका योजना छन् । मन्त्रालयले ‘खेल मैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०७८’ बमोजिम योजना सम्झौता एवं कार्यान्वयन गर्ने गरेको छ ।  

मन्त्रालयले बेलैमा काम सक्न पटकपटक योजना सम्झौताका लागि सूचित गरेको थियो । आर्थिक वर्ष घर्किनै लाग्दा योजना सम्झौता र काम गर्ने प्रवृत्ति भने अझै हट्न सकेको छैन । योजनाको काममा ढिलाइ हुँदा फरफारक र भुक्तानीमा समस्या निम्तिने गरेको छ । 

हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि उक्त आयोजनालाई ‘डिपिआर’का लागि बजेटमा राखिने महाशाखा प्रमुख पौडेलले बताए ।

आव २०७५/०७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन । बागलुङको ढोरपाटनमा बनाउने भनिएको ‘हाइअल्टिच्युड’ खेलमैदान पनि घोषणामै सीमित बनेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्