Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानका पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनका कारण पाकिस्तान तनावग्रस्त छ ।

उनका समर्थकहरुले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ ।

पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन् ।

इमरान खान नवाज शरीफको प्रधानमन्त्री पद गुमेपछि सत्तामा आएका थिए । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए । सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषी ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो ।

त्यसपछि प्रमुख विपक्षी दलका नेता रहेका खान सन् २०१८ को अगस्ट १८ तारिखमा प्रधानमन्त्री बन्न सफल भए । त्यसको चार वर्षपछि खानविरुद्ध संसदबाट अविश्वास प्रस्ताव पास भएपछि २०२२ को अप्रिल १० मा उनको प्रधानमन्त्री पदबाट मुक्त भए । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता रहेका शहबाज शरीफ प्रधानमन्त्री बने । शहबाज नवाज शरीफका भाइ हुन् ।

नवाजका भाइ शहबाज सत्तामा आएपछि प्रतिशोधको राजनीतिक साँधिएको आरोप खान समर्थकहरुले लगाउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्