Nic Ad Nic Ad
Nic Ad Nic Ad

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत

बिहीबार, वैशाख २८, २०८०

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन् । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्नेछ भने । 

सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहेका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गरेकोमा उनले आभार प्रकट गरे । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताए ।

आज  सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची–९ ले हात पारेको छ । फाइनलमा मेलम्ची–७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो । मेलम्ची–९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।

उपाधिसँगै मेलम्ची–९ ले रु दुई लाख हात पारेको छ भने मेलम्ची–७ दुवाचौरले रु एक लाखमा चित्त बुझाएको छ । त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो । उसले रु ७५ हजार नगद पाएको छ । खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची–२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरिरहेका प्रकाश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्