Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुरुषाेत्तम बस्नेतको राजनीतिक जीवन : बालसखा दलमा आबद्धदेखि संविधानसभा सदस्यसम्म

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौँ – आज निधन भएका नेपाली कांग्रेसका पुराना नेता पुरुषेत्तम बस्नेतको जन्म २००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा भएको थियो ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमए बिएल गरेका थिए ।

२००७ सालको जनक्रान्तिभन्दा अघिदेखि बस्नेतका बुवा तथा दाइहरू राजनीतिमा सक्रिय थिए । सोही पारिवारिक वातावरणका कारण उनी २०१२ देखि बालसखा दलमा आबद्ध भए ।

उनी २०१७ देखि नेपाल छात्र संघ र नेपाल तरुण दलमा सक्रिय थिए ।

२०१९ मा बनारसमा सम्पन्न तरुण दलको सम्मेलनमा तरुण दलको संयोजक भए ।

उनी २०२३ मा गठन भएको सगरमाथा छात्र संघको संस्थापक सदस्य पनि हुन् ।

त्यसपछि उनी २०२९ मा बनारसमा सम्पन्न तरुण दलको सम्मेलनबाट सगरमाथा अञ्चल संयोजक बने ।

बस्नेत २०३४ देखि ४५ सम्म कांग्रेस सोलुखुम्बुको जिल्ला कार्यसमितिको सभापतिमा चुनिए । यसबीचमा २०३५ मा उनी कांग्रेसको महासमिति सदस्यसमेत भए । 

२०३९ देखि ४७ सम्म कांग्रेस सूचना तथा सञ्चार समितिको सदस्य भए उनी । 

यस्तै बस्नेत २०४० देखि ४६ सम्म कांग्रेसको सामयिक प्रकाशनमा सम्बद्ध भए । यसपछि उनी ४६ सालको जनआन्दोलन तयारी समितिको सदस्य भए ।

यसैगरी उनी २०४७ देखि ४९ सम्म कांग्रेसको मुखपत्र नेपाल पुकारको सम्पादक भए भने २०५३ देखि ६० सम्म पुनः सम्पादक हुन सफल भए ।

यस्तै उनी २०५३ देखि ६१ सम्म कांग्रेसको प्रचार–प्रसार विभागको प्रमुख थिए । 

बस्ने २०६२–६३ सालको जनआन्दोलनमा पनि सक्रिय थिए । सो बेला उनी कांग्रेसले प्रकाशन गरेको नेपाली र अंग्रेजी दुवै बुलेटिनका सम्पादक थिए ।

बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए।

बस्नेत २०६२ देखि ६६ सम्म कांग्रेसको केन्द्रीय सदस्य भए ।

उनी पहिलो संविधानसभा सदस्य पनि हुन् । उनी २०६५ देखि ६९ सम्म संविधानसभाका सदस्य थिए । 

बस्नेतले कांग्रेसका संस्थापन नेता बिपी कोइरालासँग पनि निकट भएर काम गरेका थिए । 

वरिष्ठ नेता हुनका बाबजुद बस्नेतले कुनै ठूलो लाभको पद लिएनन् । उनी पार्टीका निष्ठावान् नेता मान्छिन् । 

यसरी कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

पछिल्लो समय बस्नेत काठमाडौँको सिफलमा बस्दै आएका थिए । 

उनी केही समयअघिदेखि क्यानडा नेपालको नियमित स्तम्भकार पनि थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्