Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, २०४६ पछि पदमा पुगेका नेता र कर्मचारीको सम्पत्ति छानबिन माग

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछि सत्तामा पुगेका नेता र उच्च पदमा पुगेका कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताएका छन् । 

नक्कली शरणार्थी प्रकरणलाई लिएर शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् ।

‘हामीले नक्कली शरणार्थीबारे निष्पक्ष छानबिन होस् भनेका छौँ । निर्दोष कोही पनि नपरुन् र दोषी कोही नउम्कियुन् भन्ने हाम्रो धारणा हो’, उनले भने, ‘अब विगतमा ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्छ । २०४६ सालपछि पदमा पुगेका नेता र कर्मचारीहरुको सम्पत्ति छानबिन हुनु पर्छ । अवैध सम्पत्ति जफत गरिनुपर्छ ।’

यसलाई लिएर राप्रपा अब सडक र सदन दुवैमा उत्रिने पनि बताए । ‘अब यो दलको, त्यो दलको, यो पक्षको, ऊ पक्षको नभनी छानबिन हुनुपर्छ’, उनले भने, ‘अब कुनै पनि भ्रष्टाचारीलाई छाड्नु हुँदैन ।’

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले आफू यसबाट पछि नहट्ने बताएको पनि लिङ्देनले जानकारी दिए ।

‘प्रधानमन्त्रीले म यो चुनौतीलाई अवसरका रुपमा लिन्छु भन्नु भएको छ’, उनले पत्रकारहरुसँग भने ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्