Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी–२० विश्वकप छनोट खेल नेपालमा हुने

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं–टी–२० विश्वकपको एसिया छनोटको खेल नेपालमा हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया क्षेत्रको छनोट चरण अन्तर्गत खेल नेपालमा गर्ने निर्णय गरेको हो ।

आगामी नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजनाको अधिकार नेपालले पाएको क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)ले जनाएको छ ।

एसिया छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आएपछि तय हुने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान पक्का गर्ने छन् ।

खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयोजना हुनेछ । केही समयअघि एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना सुरु गरिएको छ ।

६ महिनाअघि आइसिसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी तोकेको पृष्ठभूमिमा टी–२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ ।

नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र प्रतिस्पर्धा गर्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्ने भएकाले धेरै राष्ट्रले विश्वकपको अवसर प्राप्त गर्न लागेका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्