नक्कली शरणार्थी प्रकरण सामसुम पारिए आन्दोलन गर्छौैँ : रवि लामिछाने
भक्तपुर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा शनिबार पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले तीन दलका शीर्ष नेताहरू नै नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजेको आरोप लगाए । उनले यो प्रकरण सामसुम पारिए आन्दोलनमा उत्रने बताए ।
तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागिपरेको सूचना आफूले पाएको उनले दाबी गरे ।
आफूले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा तीन ठूला दलले सामसुम पार्न खोजेमा रास्वपा चुप लागेर नबस्ने भनेको समेत बताए ।
‘मैले प्रधानमन्त्रीलाई भेटेर भ्रष्टाचार प्रकरणमा दह्रो खुट्टा टेक्न भनेको छु । छानविन अघि बढाउन भनेको छु । शीर्ष नेताहरुले यसलाई मिलाउन खोजेको देखिँदै छ । यसो गरिएमा हामी आन्दोलन गर्छौँ’, उनले भने ।
लामिछानेले ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न सकेमा आफूले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा धन्यवाद दिन तयार रहेको पनि बताए । कांग्रेस, एमाले र माओवादी केन्द्रले चौथो दलका रूपमा रहेको रास्वपालाई ‘बाइपास’ गर्न खोजेको गुनासो पनि उनले गरे ।