पुलमुनि किन बसे सांसद संजय गौतम अनसन ? [तस्बिरसहित]
काठमाडौं–नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणसँग सम्बन्धित विभिन्न १५ बुँदे माग राखेर शनिबारदेखि बर्दियामा आमरण अनशनमा बसेका छन् । सदन र सडकबाट माग पूरा गराउन पटक–पटक पहल गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर आमरण अनशन सुरु गर्नुपरेको उनी बताउँछन् ।
बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर उनले अनसन सुरु गरेका छन् । गौतमले सारेको विभिन्न १५ बुँदे मागमा पहिलो बुँदामा जब्दीघाट पुलकै कुरा छ ।
जब्दीघाट पुल बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरियासँग जोडेकाृ छ । पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन् ।
अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ । साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ । मोटरसाइकलमा एक जनाको २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ । अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ ।
जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो । यही जब्दीघाट पुलमुनि गौतम आमरण अनसन थालेका हुन् । बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतमलाई हराएर चर्चामा आएका गौतम यही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
गौतमले सदनमा जब्दीघाट पुलको कुरा उठाएका पनि हुन्, जसको सुनुवाइ भएन ।
सांसद गौतमले सदन र सडकबाट माग उठाए पनि पूरा नभएपछि बाध्य भएर आमरण अनसनमा बसेको बताए ।
गौतमले तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल–बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारेका छन् ।