नेभिगेशन
समाचार

राष्ट्रपति अस्वस्थ्य भएपछि सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै वाचन गर्ने

काठमाडौं–सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि वाचन गर्ने भएका छन् ।

राष्ट्रपतिले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने संसदीय परम्परा रहेको छ । तर राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थ भइनसकेका कारण प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने भएका हुन । आइतबार बसेको ३ ठूला दलको शीर्ष नेताहरूको बैठकमा यसबारे पनि छलफल भएको हो । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका हुन् ।  आगामी जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम सुरुमा संक्षिप्त रूपमा पढ्ने र त्यसपछि बाँकी प्रधानमन्त्रीले वाचन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा छलफल भएको हो ।

‘राष्ट्रपतिजी अस्वस्थ हुनुहुन्छ । उहाँले नीति तथा कार्यक्रमका सबै पाठ गर्न सक्नुहुन्न,’ लेखकले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने विषयमा छलफल भएको छ ।’

कार्यव्यवस्था परामर्श समितिले यस सम्बन्धमा औपचारिक निर्णय लिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार