Nic Ad Nic Ad
Nic Ad Nic Ad

शक्तिशाली चक्रवात ‘मोका’ बंगलादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं–प्रतिघण्टा २०० किलोमिटर भन्दा बढी वेगको आँधीसहितको शक्तिशाली चक्रवात बंगलालादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ ।

‘मोका’ नाम दिइएको चक्रवातका कारण म्यान्मारको सित्वेमा विद्युत् र वाईफाई सेवा अवरुद्ध भएको छ । रूखहरू ढलेका छन् भने एउटा टेलिफोन टावर पनि क्षतिग्रस्त भएको छ । यस्तै बंगलादेशको कोक्स बजारमा कम्तीमा २ लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिएका छन् ।

मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन् । 

एकदमै खतरनाक हुनसक्ने ठानिएको चक्रवातअघि दक्षिणपूर्वी बंगलादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

यसअघि यो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको थियो ।

मोका चक्रवात बंगलादेशले करिब दुई दशकयता सामना गरेको सर्वाधिक शक्तिशाली आँधी बन्नसक्ने ठानिएको छ ।

मौसम प्रणाली बंगललादेश–म्यानमार तटतर्फ अघि बढ्दै जाँदा नजिकैका विमानस्थलहरू बन्द गरिएका छन् ।

माझीहरूलाई माछा मार्ने काम रोक्न निर्देशन दिइएको छ भने असुरक्षित स्थानमा रहेका मानिसहरूका लागि १,५०० अस्थायी आवास व्यवस्था गरिएको छ ।

बाँस र त्रिपालले बनेका अस्थायी शिविरहरूमा बसिरहेका म्यानमारबाट आएका रोहिन्ज्या शरणार्थीहरू पनि चक्रवातका कारण जोखिममा छन् । राष्ट्रसङ्घले आफूले सकेसम्म त्यस क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्