दव्ल्याङमा पहिरो, बागलुङ कुश्मीशेरा सडक अवरुद्ध
बलेवा– वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ ।
बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए ।
सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् ।
“पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ”, खड्का भन्छन्, “भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।”