मदन–आश्रित स्मृति दिवस मनाउँदै एकीकृत समाजवादी
काठमाडौँ– नेकपा (एमाले)बाट अलग भएको नेकपा (एकीकृत समाजवादी)ले मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाउन लागेको हो ।
एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो ।
मदन–आश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।
यसैबीच पार्टीले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै पार्टीले देशभर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी सङ्गठनिक आपराधिक गतिविधिमा संलग्न सबैलाई कडाभन्दा कडा सजाय दिएर दण्डित गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । पार्टीले बुधबार देशभर दबाबमूलक कार्यक्रमस्वरूप प्रदर्शन गर्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।