Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यास नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण

बुधबार, जेठ ३, २०८०

तनहुँ– जिल्लाको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।

रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो । 

व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरुप  धानको बीउ नवलपुर, चितवन, स्याङ्जालगायत जिल्लाबाट सङ्कलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बीउ माग नगरेको उनले बताए । 

व्यासका अन्य वडाका कृषकले धानको बीउ माग गरे पनि विशेषगरी १, ५, ६, ७ र ९ वडा धानखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित छन् । उन्नत बीउका लागि भनेर मगाइएको धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जानकारी दिए ।  

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथामिकता दिँदै आएको छ । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ ।

बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउ समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्