नेभिगेशन
खेलकुद
आइपिएल :

मुम्बईमाथि रोमाञ्चक जित निकालेको लखनऊको प्ले अफ सम्भावना बलियो 

काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

घरेलु मैदान ऐकना स्टेडियममा गएराति लखनऊले सर्वाधिक ५ पटकको विजेता मुम्बईमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको हो । 

यस जितसँगै लखनऊ १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ । यससँगै लखनाऊको प्ले अफमा पुग्ने सम्भावनासमेत बलियो बनेको छ । उसले १३ खेलमा ७ जित र ५ हारका १५ अंक जोडेको छ ।

लखनऊले जितका लागि दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन मात्र बनायो । 

मुम्बईका ओपनर तथा विकेटकिपर इशान किसनले ३९ बलमा ८ चौका र १ छक्कासहित ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।

मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र इशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । कप्तान शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । 

मुम्बईलाई अन्तिम ओभरमा जितको लागि ११ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर मोहसिन खानले क्यामरन ग्रिन र टिम डेविडलाई मात्र ५ रन दिएपछि लखनऊले रोमाञ्चक जित हात पारेको हो । 

डेविड १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे । यस्तै, नेहाल वधेराले २० बलमा २ चौकाको सहयोगमा १६ रन बनाए ।

लखनऊका लागि रवि विश्रोई र यश ठाकुरले समान २-२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाएको थियो । 

लखनऊका लागि मार्कस स्टोइनिसले ४७ बलमा ४ चौका र ८ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय पारी खेले । 

३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनऊका लागि चौथो विकेटका लागि स्टोइनिस तथा कप्तान कुनाल पान्ड्याले ८२ रनको महत्वपूर्ण साझेदारी गरे ।  

कप्तान पान्ड्याले ४२ बलमा १ चौका र १ छक्काको सहयोगमा ४९ रनमा रिटायर्ट हर्ट आउट भए । ओपनर क्विटन डी ककले १५ बलमा १६ रन बनाए । 

मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पियुष चावलाले १ विकेट लिए । 

यता, पराजित मुम्बई १३ खेलमा ७ जित र ६ हारका साथ अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

हारका बाबजुत पनि मुम्बईको प्ले अफ सम्भावना बलियो नै रहेको छ । पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरको १२ अंक मात्र छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय