गण्डकीका कांग्रेस नेता बरालको निधन
गण्डकी– नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ ।
पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो ।
बरालको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, महामन्त्री विष्णुप्रसाद लामिछाने, कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगायतले सामूहिकरुपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरेका थिए ।
बुवा दशरथ र आमा सेतुमायाबाट २०३१ साल पुसमा जन्मिएका उनका दुई श्रीमती नमीता र तुलसी, छोरा सन्देश, छोरीहरू ज्योति र स्मृति छन् । बरालको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गरेको छ ।
महामन्त्री विष्णुप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा पार्टीका कर्मठ, जुझारु एवम् सामाजिक व्यक्तित्व बरालको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम् शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।