Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

बिहीबार, जेठ ४, २०८०

ढाका– कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ । 

बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बिआइडिएस)ले गरेको एक सर्वेक्षणअनुसार बङ्गलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ । बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक–२०२३ मा उक्त जानकारी दिएको हो । 

बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताए । कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए । 

उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेको बताएका थिए । 
 
रूस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्