लमजुङ र गोरखाका ४ पालिका जोडेर बुद्ध हिमाल–हिमालचुली–ग्रेटलेक सर्किट ट्रेल बनाइने
लमजुङ – ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले जिल्लाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने भएको छ । बुधबार दोर्दी गाउँपालिकामा भएको स्थानीय तह प्रमुखहरूसँगको बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ ।
विगत ४५ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले गोरखाको अजिरकोट गाउँपालिका र लमजुङको पूर्वी उत्तरी क्षेत्रहरू, दोर्दी, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकालाई जोडेर पर्वतीय पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले बताए ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेलको लागि गोरखाको अजिरकोट गाउँपालिका, लमजुङको दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यहरूमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देपकोटा, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।
यसैगरी बुद्ध हिमाल, हिमालचुली, ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि अजिरकोट र दूधपोखरी गाउँपालिकाको सिमानामा राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमानामा बेसीसहर नगरपािलका भएकाले राइनास र बेसीशहर साझेदारी र सहकार्य गर्नका लागि उक्त राइनास नगरपालिका, बेसीसहर नगरपालिका र नासो गाउँपालिका जोड्ने निर्णय गरिएको छ ।
कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा, टानका अध्यक्ष निलहरि बाँस्तोला, दोर्दी गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, अजिरकोट गाउँपालिका उपाध्यक्ष अनिता भुजेल, दोर्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरुङ, दूधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, टानका उपाध्यक्ष धनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा आफ्नो ठाउँबाट पर्वतीय पर्यटन प्रवर्द्धनमा के–के गर्न सकिन्छ भनि विभिन्न छलफल गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको टानको प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले बताए ।