छैटौँ चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएका छन ।
मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु लगायत जडीवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रर्दशनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोकोश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे ।
एक्स्पोको उद्घाटन गर्दै मन्त्री भण्डारीले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाई छ । मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको उनको भनाइ छ ।
मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यवसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए । छैटौं व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईने जनाएको छ । सम्वोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि बस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे ।
चेम्बर एक्स्पोलाई सम्वोधन गर्दै वाणिज्य सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए ।
उत्पादन र उपभोक्तालाई एकै ठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाई छ । मुलुकमा ९ खर्ब रुपैयाँभन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनको भनाइ छ ।
आजदेखि सुरु भएको मेला जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसंगै भारत, बंगलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।