फ्रेन्ड्स र मछिन्द्र, संकटा र मनाङकाे दुबै खेल बराबरीमा
काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् ।
खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ७८ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए भने ८३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ भने फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ ।
त्यस्तै, बिहीबार नै च्यासल मैदानमा भएको खेलमा संकटा क्लवसंग २–२ को बराबरी खेल्दै मनाङ मर्स्याङ्दी क्लव अंक बाँड्न बाध्य भएको छ ।
मनाङको लागि कोफी कुडोले दुई गोल गरे । संकटाका युसेफ एट्रिस र मनिष डाँगीले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४४ औं म्मिनेत्मा युसेफले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ४५ औं कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २–२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ ।