Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोमान्थाङ दरबारमा मनाइयो आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व

बिहीबार, जेठ ४, २०८०

म्याग्दी– मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको थियो ।

उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।

दुई तले घर बराबरको उचाइ भएको थाङ्का तिजी पर्वमा मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दशवटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।

Tiji_Lomangthang1684415905.jpg

तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिङजिङ गुरुङले बताए । “दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आए”, उनले भने, “तिजी पर्व संस्कृति र परम्परामात्र नभएर पर्यटक भ्यियाउने माध्यम पनि बनेको छ ।”

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाइएको बताउए । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गरेका छौँ”, उनले भने, “पहिलो दिन जमिनका देवी–देवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र राक्षसलाई लखेटेको अभिनय लामाहरूले नृत्यमार्फत देखाएर पर्वको समापन गरिएको छ ।”

तिजीमा लामाहरूले देखाइने नृत्य विशेष आकर्षण हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले तिजी पर्व अवलोकनका लागि आएका स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका बताए । माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । – रासस

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्