Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपति बाइडेनको पिएनजी भ्रमण अन्तिम समयमा रद्द, ब्लिन्केनले प्रतिनिधित्व गर्ने

शुक्रबार, जेठ ५, २०८०

हिरोसिमा– अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको पपुवा न्यू गिनी (पिएनजी) भ्रमण रद्द भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पिएनजीमा अमेरिकाको प्रतिनिधित्व गर्ने भएका छन् ।

बाइडेनले पिएनजीका प्रधानमन्त्री जेम्स मारापेलाई एयर फोर्स वानबाट फोन गरेर रिपब्लिकन प्रतिद्वन्द्वीसँग वार्तामा सामेल हुन आइतबार घर फर्किनुपरेको जानकारी गराएको बिहीबार ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेनले प्रशान्त टापुसँगको नयाँ साझेदारीका लागि अमेरिकी प्रतिबद्धतालाई निरन्तरता दिँदै विदेशमन्त्री ब्लिन्केनले पोर्ट मोरेस्बीमा हुने युएस प्यासिफिक आइल्यान्ड्स फोरमको बैठकमा आफ्नो प्रतिनिधित्व गर्ने जानकारी गराउनुभएको छ ।’

बाइडेनको यो भ्रमण सोमबारका लागि तय गरिएको थियो । बाइडेन प्रशासनले बढ्दो चीनको सामना गर्दै प्रशान्त महासागरमा आफ्नो नेतृत्वलाई पुनर्जीवित गर्न कडा प्रयास गरिरहेको छ । 

बाइडेनको एसिया–प्रशान्त यात्रा राष्ट्रिय ऋणको सीमा बढाउने वा जोखिम नतिर्ने अधिकार काङ्ग्रेसलाई दिने विषयमा रिपब्लिकनसँग भएको तनावपूर्ण वार्ताका कारण अवरुद्ध भएको हो ।

बाइडेनले अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको क्वाड क्षेत्रीय समूहका अन्य नेताहरूसँग अष्ट्रेलियामा हुने भनिएको बैठक पनि रद्द गरेका छन् ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले प्रशान्त टापु फोरमसँगको दोस्रो अमेरिकी शिखर सम्मेलनका लागि यस वर्षको अन्त्यमा प्रधानमन्त्री र अन्य प्रशान्त क्षेत्रका नेताहरूलाई वासिङ्टन डिसीमा निमन्त्रणा पनि गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्