अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो वीरगञ्ज महानगरको डोजर
वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना आज डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना हटाएको हो ।
अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ । सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने वडा नं १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताए ।
महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ । अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुगेका थिए ।
महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गरे । -रासस