बाइडेन, सुनक र म्याक्रोन हिरोसिमामा, मोदी पनि जाने
हिरोसिमा– अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुगेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गरेका थिए ।
हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै थिए । त्यसैगरी बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दैछन् । हिरोसिमा पिस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् । जी–७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलाइत र जर्मनी रहेका छन् । जापानले आफ्नो जी(७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ।
जी– ७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी–७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दैछन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दैछन् । उनी मे २०–२१ मा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भनेका छन्, ‘मे १९ देखि २१ सम्म जी–७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुँदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर सहर हो। म साँच्चै जी–७ नेताहरूलाई हिरोसिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ।’
यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलाइती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गरेका छन् । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् । जापानले यसै वर्ष २०२३ मा जी–७ को अध्यक्षता ग्रहण गरेको हो।