Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिममा आज सरकार विस्तार, को–को बन्दैछन् मन्त्री ?

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुने भएको छ । सत्ता गठबन्धनबीच शुक्रबार नै भागबण्डा मिले पनि नागरिक उन्मुक्ति पार्टीका कारण विस्तार हुने सकेन ।

नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री भएका कमलबहादुर शाहले आज ४ जना मन्त्री नियुक्त गर्दैछन् ।  नेकपा (माओवादी केन्द्र)बाट सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरणमा क्रमशः झपट साउद र रमेश धामी मन्त्री बन्दैछन् ।

सोही पार्टीकै गीता माललाई राज्यमन्त्री बन्नेछिन् । उनको मन्त्रालयको टुंगो लागेको छैन ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा उन्मुक्तिका रामेश्वर चौधरी नियुक्त हुनेछन् ।

उन्मुक्तिले  लक्ष्मणकिशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ ।

लक्ष्मणकिशोरलाई सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न संसदीय दलको कार्यालयले मुख्यमन्त्रीलाई सिफारिस गरेको भए पनि सामाजिक विकास मन्त्रालय माओवादीको भागमा परेपछि उनी आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउन सक्ने सम्भावना रहेको बताइएको छ । तर, आफ्नो पार्टीका पृथ्वीबहादुर सिंहलाई पनि मन्त्री बनाउने कांग्रेसले तयारी गरेको छ ।

भागबण्डाअनुसार गठबन्धनमा आबद्ध दल माओवादी केन्द्र २, कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको हो । एक राज्यमन्त्री पनि उन्मुक्तिले पाउने छ । 

यद्यपि, शुक्रबार फेरि उन्मुक्तिले अर्को मन्त्रालय दाबी गरेपछि सरकार विस्तार हुन सकेको थिएन । उन्मुक्ति र कांग्रेसका मध्ये एकजना मन्त्री हुनेछन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा उन्मुक्तिका चौधरी र कांग्रेसका सिंहमध्ये एक मन्त्री बन्ने पक्का छ । 

सुदूरपश्चिममा २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए । 

उनले कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा (एकीकृत समाजवादी)का नरेशबहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए ।

त्यसयता उनले सरकार विस्तार गर्न सकेका थिएनन् । 


 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्