Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डको दाबी– मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्छ

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमरण दुवै देशका लागि ऐतिहासिक हुने दाबी गरेका छन् ।

कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए । 

‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु, हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौँ,’ उनले भने ।

उनले शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र  गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरे । 

प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए ।

‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु,’ उनले थपे ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जे दाबी गरे पनि उनको भ्रमणको मितिबारे अहिलेसम्म टुंगो लागेको छैन । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्